बैतडी, २५ असार । सुत्केरी र नवजात शिशुलाई छुन नमान्ने ६२ स्वयम्सेविका स्वास्थ्य सेवाबाट निष्काशित भएका छन् । विभिन्न दुई दर्जनभन्दा बढी स्वास्थ्य संस्थामा कार्यरत स्वयम्सेविकालाई जिल्ला स्वास्थ्य कार्यालयले निष्काशन गरेको हो । जिल्लाको दुर्गम मानिएको पूर्वी क्षेत्रमा पर्ने थलाकाँडा गाविसका नौमध्ये आठ जनालाई हटाइएको तथा अन्य गाविसमा एकदेखि तीन जनालाई हटाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
भर्खरै जन्मेको शिशु र सुत्केरीलाई छुन नमान्ने ती स्वयम्सेविकालाई हटाएर नयाँ नियुक्त गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार गर्न खटाइएका स्वयम्सेविकाले सुत्केरी र नवजात शिशुलाई नछुने गरेकाले उनीहरुको सट्टा नयाँ स्वयम्सेविका नियुक्त गरिएको उहाँले बताउनुभयो ।
स्वयम्सेविकाको झोलामा १० प्रकारको औषधि चौबिसै घन्टा अनिवार्य हुनुपर्ने नियम कार्यान्वयन गर्न जिल्लाका ६८ स्वास्थ्य संस्थालाई निर्देशन दिइएको समेत अवस्थीले जानकारी दिनुभयो । अहिले जिल्लाका ४१ स्वास्थ्य संस्थामा प्रसूति सेवा सञ्चालनमा आएको तथा केही महिनायता सुत्केरी र शिशुलाई नछुने अभिभावकलाई जिल्ला अस्पतालमा समेत प्रवेश निषेध गरिएको छ ।