कायरो - संवैधानिक अदालतका प्रधान न्यायाधीश अदलिद मन्सुरलाई सपथ खुवाउनुअघि सैनिक कूको सिकार भएका इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सी र गत वर्ष चुनाव जितेका नेताहरु सैनिक नियन्त्रणमा परेका छन्। उनीहरुलाई नजरवन्दमा राखी न्यायाधीशलाई सत्ताको सपथ खुवाइने तयारी भएको हो
संयुक्त राष्ट्रसंघ, अमेरिका तथा विश्वका शक्तिशाली मुलुकहरुले सैनिक कूको विरोध गरेका छैनन्। सैनिक कू लगत्तै सडकमा भएको दोहोरो भिडन्तमा परी १४ जनाले ज्यान गुमाएका छन्। आज बिहान राष्ट्रिय टेलिभिजनबाट सैनिक कूको घोषणा भएको थियो। राष्ट्रपति मोर्सी समर्थक र विरोधीबीच झडप भएको थियो। मोर्सीप्रति सद्भाव राख्ने टेलिभिजन च्यानलाई 'अन एयर' हुन दिइएको छैन। मोर्सीले भने सम्भावित हिंसा नहोस् भन्ने अभिव्यक्ति दिएको न्युज एजेन्सीहरुले जनाएका छन्।
मोर्सीको सत्ताविरुद्ध चर्को आन्दोलन हुन थालेपछि सेनाले साथ दिएको हो। अन्तर्राष्ट्रिय क्षेत्रले पनि उनको सत्तालाई साथ दिएन। सेनाले त्यहाँको संविधान निलम्बित भएको घोषणा गरिसकेको छ। अव नयाँ टेक्नोक्रेटिक अन्तरिम सरकार गठन हुने र त्यसले संविधान संशोधन गर्दै नयाँ संसदीय र राष्ट्रपतीय निर्वाचन गर्ने जनाएको छ।
सरकार नियन्त्रित पत्रिकाले जनाएअनुसार ३ सय ब्रदरहुड सदस्यलाई गिरफ्तारी पत्र जारी गरिएको छ।
राष्ट्रसंघीय महासचिव वान कि मुनले छिटै नागरिक अधिकार र प्रजातन्त्र कायम हुनुपर्ने बताएका छन्। तर उनले सेनाको कूको निन्दा गरेका छैनन्। यहाँको सेनाले यो वर्षमात्र १.३ अर्ब अमेरिकी डलर सहयोगका रुपमा पाएको छ। अमेरिकी राष्ट्रपति बाराक ओवामाले पनि प्रजातान्त्रिक व्यवस्था छिटो पुनर्स्थापनामा जोड दिएका छन्। कूको विरोध गरेका छैनन्।