भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''काभ्रेमा राहत सामाग्रीमा राजनीतिक भागबण्डा, पीडितहरु आक्रोसित ''

काभ्रेमा राहत सामाग्रीमा राजनीतिक भागबण्डा, पीडितहरु आक्रोसित
काभ्रे, बैशाख १६ । शनिवार गएको महाभुकम्पले बढी क्षति पुर्‍याएका काभ्रेका बिभिन्न गाउं विकास समितिहरुमा अझै राहत पुग्न सकेको छैन ।
रेडक्रसबाट हालसम्म ५ सय प्रति त्रिपाल र सरकारबाट आएको एक हजार प्रति त्रिपाल बाहेक जिल्लामा अरु केहि राहत नआएको पीडितहरुले गुनासो गरेका छन् ।
उक्त त्रिपाल पनि प्रभावित क्षेत्रभन्दा गैह्र प्रभावित क्षेत्रमा वितरण हुंदा आफूहरु पीडित बनेको गुनासो सर्वसाधारणको छ ।
सिन्धुपाल्चोकसँग जोडिएका काभ्रेका नाल्दुम, गैह्री बिसौना देउपुर, जैसिथोक चण्डेनी, नयाँगाउँ देउपुर तथा डाँडापारी, तिमाल र कोशी पारीका गाविसहरुमा राहत तथा कुनै निकायको उपस्थिती नदेखिएको गुनासो समेत गरेका छन् ।
तर प्रमुख जिल्ला अधिकारी सुर्दशन ढकालले जिल्लामा आएको १५ सय त्रिपाल सर्वदलीय बैठक बसेर विभिन्न गाविसमा पठाइएको जानकारी दिए । नयाँगाउँ देउपुरमा अहिलेसम्म कुनै राहत तथा प्रशासन नपुगेको स्थानिय एवं पत्रकार नवराज बजगाईले जानकारी दिए ।
उनका अनुसार त्यस गाविसको १३ सय घरहरु मध्ये ९ सय घरहरु पूर्णरुपमा क्षति भएको छ । गाउँमा भएको स्वास्थ्यचौकी पनि नखुलेको उनको भनाई छ । त्यस्तै जिल्लाबाट पठाइएको त्रिपालहरु राजनैतिक भागवण्डाको कारण पिडितहरुसम्म नपुगेको स्थानियले गुनासो गरेका छन ।
काभ्रेमा ज्यान गुमाउनेको संख्या २ सय ७३ पुगेको छ । त्यस्तै धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल र नेपाली सेनाको खड्गदल गणमा क्याम्प बनाएर झण्डै ११ सय विरामीको उपचार भईरहेको छ । भुकम्पकै कारण ५० भन्दा बढि बेपत्ता भएका छन ।
प्रारम्भिक चरणमा काभ्रेमा भौतिक रुपमा ५० हजार घरमा क्षति पुगेको जानकारीमा आएको छ भने २ लाख ५० हजार विस्थापित भएका छन ।
जिल्लाका मिल्चे, साल्मेचाकल, डाँडागाउँ, साल्धारा फलामेटार, महाङ्काल भुग्देउ, च्याम्राङवेशी रोशीपारी, कोशीपारीको अधिकांश भेगको क्षतिको विवरण अझै आइसकेको छैन ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस