भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''वीरगन्जमा प्रहरीको गोली लागि घाइते एकजनाको मृत्यु, झडपमा २३ जना घाइते''

वीरगन्जमा प्रहरीको गोली लागि घाइते एकजनाको मृत्यु, झडपमा २३ जना घाइते

वीरगन्ज, भदौ १४ । वीरगन्जमा मधेसी मोर्चा र प्रहरीबीच सोमबार भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

पर्साको श्रीपुर १४ राधेमाई टोलमा प्रहरीले चलाएको गोली लागि घाइते भएका वीरगन्ज–१५ का ३० वर्षीय दिलिप चौरसियाको उपचारका क्रममा मृत्यु भएको हो ।
/>
सोमबार दिनभरको झडपका क्रममा दुबैतर्फ गरी २३ जना घाइते भएका जनाइएको छन । झडपले उग्ररुप लिएपछि वीरगन्जमा सोमबार अपरान्ह ४ बजेदेखि कर्फ्यु लगाइएको छ ।

स्थानीय प्रशासनले वीरगन्ज र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । वीरगन्जको नगवाचोक क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायरसमेत गरेको थियो ।

रबरको गोली लागेर स्थानीय कृष्णकुमार पटेललगायत घाइते भएका छन् । घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

बाइपास सडकको नगवा चोकमा मोर्चाका कार्यकर्ताले सडक अवरुद्ध पारेर प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

यस्तै, राधेमाई टोलमा प्रहरीले चलाएको गोली लागि दुईजना घाइते भएका छन् ।

विर्तामा उद्योग वाणिज्य संघ वीरगन्जको परिसरमा राखिएको नापी कार्यालयको ना१झ २७९ नम्बरको जिपमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनकारीले रानीघाट प्रहरीचौकीको सामान सडकमा ल्याएर जलाइदिएका छन् ।

यता, बाराको कलैयमा निषेधाज्ञा तोड्दै सोमबारै भएको प्रदर्शनमा प्रहरीले चार राउन्ड हवाई फायर गर्नुका साथै केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस