भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


शिक्षकको कुटाइले भक्तपुरका एक विद्यार्थीको कानको जाली फुटेको छ ।

शिक्षकको कुटाइले कानको जाली फुट्यो
भाद्र ६, २०७२- शिक्षकले कुटदा भक्तपुरका एक विद्यार्थीको कानको जाली फुटेको छ । भक्तपुर नगरपालिका देकोचास्थित जेन्युइन इङलिस सेकेन्डरी स्कुलका कम्प्युटर शिक्षक निर्जन श्रेष्ठले कुटदा ६ कक्षामा अध्ययनरत १२ वर्षीय एरिकप्रताप थापाको कानको जाली फुटेको अभिभावकले बताएका छन् ।
‘अक्षर राम्रो बनाउन र छिट्टो लेख्न भन्दै टाउकोमा टुटुल्को आउने गरी कुटे,’ एरिकप्रतापले गुनासो गरे, ‘एकैछिनमा फेरि पछाडिबाट दाहिने कानमा जोडले हाने । बेहोस नै हुने गरी दुख्यो, कानको एकापट्टिको गालासमेत सुन्निएको छ ।’ एरिकका हजुरबुवा शिवकुमार थापाले शिक्षकले कुटेर कान सुन्निएको अवस्थामा नाति घर आएको बताए । ‘तत्कालै विद्यालयमा फोन गरी प्रिन्सिपललाई लिएर अल्का अस्पताल पुर्‍यायौं, अस्पतालमा चिकित्सकले कानमा भित्र गहिरो चोट लागेको र कानको जाली फुटेको बताए,’ उनले भने । चिकित्सकले एरिकलाई एक महिना आराम गर्न सुझाव दिएका छन् । बिहीबार एरिकलाई कुटेर घाइते बनाएका शिक्षकलाई झिकाउन भन्दा विद्यालयले शनिबारसम्म लुकाई कारबाही नगरेको गुनासो अभिभावकको छ । औषधिले ठीक भएन भने एक महिनापछि अप्रेसन गर्नुपर्नेसमेत चिकित्सकले जानकारी गराएको थापाले बताए । कानको जाली नै फुट्ने गरी विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग गर्दा विद्यालयले शिक्षक भागेको बताएको थापाले गुनासो गरे ।
शिक्षकले कक्षामा होमवर्क ढिला गरेको भन्दै कान र कञ्चटमा कुट्ने, टाउकोमा टुटुल्को उठ्ने गरी यातना दिने गरेको विद्यार्थीले बताएका छन् । कक्षामा यातना दिएको कुरा अफिसमा भन्दा फेल गराइदिने डरले विद्यार्थी चुप लागेर बस्ने गरेकोसमेत थापाले बताए । ‘ती शिक्षकले अरू साथीलाई पनि टाउकोमा टुटुल्को आउने गरी कुट्ने गर्छन्,’ एरिकले भने,‘तर, रिजल्टमा फेल गराइदिने डरले साथीहरू प्रिन्सिपल सरलाई रिपोर्ट गर्न डराउँछन् ।
विद्यार्थी कुट्ने शिक्षकलाई विद्यालयले कारबाही नगरी भगाएको बताउँदै अभिभावकले प्रशासनमा उजुरी गर्ने भएका छन् । विद्यालयले भने शिक्षक बेपत्ता भएको जनाएको छ । विद्यालयले घाइते विद्यार्थीको उपचार खर्च दिने, विद्यार्थी कुटेर
घाइते बनाउने शिक्षकलाई माफी मगाउने र विद्यालयबाट बर्खास्त गर्ने विद्यालयका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेले बताए । विद्यालयले दोषी शिक्षक र अभिभावक राखेर निर्णय गर्नेसमेत जनाएको छ ।
प्रकाशित: भाद्र ६, २०७२
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस