भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''साउदी कुटनीतिज्ञद्वारा नेपाली दुई युवतीको यौन शोषण, दुबैको उद्धार ''

साउदी कुटनीतिज्ञद्वारा नेपाली दुई युवतीको यौन शोषण, दुबैको उद्धार
काठमाडौं, भदौ २३ । नेपालका दुई युवतीलाई भारतस्थित साउदी अरबका एक कुटनीतिज्ञले यौन शोषण गरेको तथ्य प्रकाशमा आएको छ ।
समाचार एजेन्सीहरुका अनुसार बागलुङ घर भएका ती दुई युवतीलाई भारतको राजधानी नयाँदिल्लीबाट उद्धार गरिएको छ ।
भारतस्थित साउदी अरब दुतावासका प्रथम सचिवको घरमा घरेलु कामदारका रुपमा रहँदै आएका ती युवतीका तर्फबाट नयाँ दिल्ली मै स्थानीय प्रहरी कार्यालयमा उजुरीसमेत दिइएको र कानुनी कारवाही अघि बढाइएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
करिब पाँच महिना अघि बाग्लुङका दुई युवती नयाँ दिल्ली पुगेको र उनीहरुलाई साउदी अरबमा रोजगारी दिलाउने, मासिक ३० हजार रुपैयाँ पारिश्रमिकसहित खाना र बस्ने सुविधा उपलब्ध गराउने भन्दै एक दलालले उनीहरुबाट एक लाख रुपैयाँ कमिशनसमेत लिएको बताइन्छ ।
ती दलालले दिल्लीस्थित साउदी दुतावासमा कुटनीतिज्ञका रुपमा रहँदै आएकी ‘रोजा’ नाम गरेकी एक महिलासँग भेट गराएका थिए । रोजाका पिता माजिद साउदी दुतावासमै प्रथम सचिव पदमा कार्यरत रहेको पनि भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
रोजाले ती दुबै नेपाली युवतीलाई आफ्नो घर लगेको र केही दिनमै आफ्नो पुरा परिवारका साथ रोजाले ती युवतीलाई साउदी पु¥याएको बताइन्छ । साउदीको जेद्दा सहरस्थित उनीहरुको घरमा पुगेपछि ती युवतीमाथि दुष्कर्मको शृंखला सुरु भएको भारतीय संचारमाध्यमले पीडितको भनाई उद्धृत गर्दै जनाएका छन् ।
यौन शोषणको विरोध गर्दा पिट्ने गरेको पीडितहरुले भारतीय संचारमाध्यम समक्ष जनाएका छन् ।
करिब डेढ महिना अघि माजिदको परिवार पुनः दिल्ली फर्किएको र ती दुई युवतीलाई पनि सँगै लिएर आएको बताइन्छ । उनीहरु दिल्लीस्थित एम्बियन्स मलको पछाडी क्यारियोना सोसाइटीको टावर ‘ई’ को फ्ल्याट नम्बर ५०२ मा बस्दै आएका थिए । दिल्ली आइसकेपछि पनि ती दुई नेपाली युवतीमाथि यौन शोषण जारी रहेको बताइन्छ । उनीहरुलाई घरबाट बाहिर निस्कनसमेत दिइएको थिएन ।
करिब दुई साताअघि नीतु नाम गरेकी एक अर्की घरेलु सहायक सोही घरमा काम गर्न आएकी थिइन् । रोजा र माजिदको घरमा घरेलु कामदारमाथि हुने अत्याचार देखेर नीतु त्यहाँबाट भागेर नेपाल फर्किएको र उनले नै ती दुई नेपाली युवतीका बारेमा खबर गरेको बताइन्छ ।
दिल्लीस्थित नेपाली दुतावास, माइती इन्डिया, लाइट हाउस फाउन्डेशन, भारतीय प्रहरीसमेतको मद्दतमा रोजाको घरमा पुगेर टोलीले गत सोमबार ती दुई युवतीलाई उद्धार गरेको बताइन्छ । दुबै पीडितको बयान लिइ साउदी कुटनीतिज्ञ र उनको परिवारविरुद्ध कानुनी कारवाही अघि बढाइएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
आरोपी विदेशी कुटनीज्ञि भएका कारण गिरफ्तारीका लागि विशेष प्रक्रिया अवलम्बन गरिएको भारतीय प्रहरी अधिकारी राजेश कुमारले जनाएका छन् । (एजेन्सीहरुको सहयोगमा)
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस