भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''३१ करोड रुपैयाँ बराबरको कण्डम आयत''

३१ करोड रुपैयाँ बराबरको कण्डम आयत

भाद्र ६, २०७२- स्वदेशमा उत्पादन नहुने र वर्षेनी माग बढ्दै गएपछि पुरुष गर्भनिरोधक ‘कन्डम’ आयातबाट वर्षेनी करोडौं रुपैयाँ विदेशिने गरेको भन्सार तथ्यांकले देखाएको छ ।

बीरगंज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्र यो नाका हुँदै ३१ करोड १६ लाख ४७ हजार रुपैयाँ बराबरको ८ लाख ८१ हजार किलो कन्डम आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षमा भने २८ करोड ९० लाख ३२ हजार रुपैयाँ बराबरको ३ लाख ३५ हजार किलो आयात भएको थियो ।

यसरी आयात हुने कन्डममध्ये बढी जसो भारत र चीनबाट आयात हुने गरेको बीरगंज भन्सारका प्रवक्ता शुसीलप्रसाद शर्मा बताउँछन् । गर्भनिरोधक सामाग्रीको आयात गर्दा भन्सार सुविधा पाइन्छ । यस्ता सामाग्री आयात गर्दा प्रत्येक इन्भ्वाइस (बिल) मा जतिसुकै परिमाणमा आयात गरेपनि प्रति इन्भ्वाइस ५ सय रुपैयाँ भन्सार सेवा दस्तुर र ६५ रुपैयाँ मूल्य अभिवृद्धी कर गरी जम्मा ५ सय ६५ रुपैयाँ मात्र लाग्छ ।

त्यसैले ठूलो परिमाणमा आयात हुँदा पनि यसको आयातबाट गत आर्थिक वर्षमा यो भन्सारले ५९ हजार र अघिल्लो आर्थिक वर्षमा ७६ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको छ ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजको चर्म तथा यौन रोग विभाग प्रमुख अतुलेश चौरसिया नेपाल सरकारकै अधिनस्थ सिआरएस कम्पनीले अमेरिकामा निर्मित प्यान्थर ब्राण्डको कन्डम आयात गर्दै आएको बताउँछन् ।

‘विश्वव्यापी रुपमा यो सस्तो मूल्यमा पाइने सहज पुरुष गर्भ निरोधक हो,’ उनले भने, ‘पछिल्लो २ दशकमा एचआइभी/एड्स तथा अन्य यौनजन्य रोग(सेक्सुएल ट्रान्समिटेड डिजिज) हरु पनि देखिन थालेपछि गर्भनिरोधक मात्र नभई यौन रोगबाट बच्नका लागि पनि यसको प्रयोग व्यापक प्रयोग हुन थालेको हो ।’

यसको वर्षेनी आयातबाट विश्वव्यापी रुपमा पुरुष गर्भनिरोध साधनको रुपमा बनेको कन्डम नेपाली समाजमा पनि प्रयोग र व्यापकता बढै गएको बुझ्न सकिने डा.चौरसियाको तर्क छ ।

‘यसको अन्य कुनै प्रयोग वा प्रयोजन पनि छैन,’ उनले भने, ‘विवाहित तथा अविवाहित जोडीले यसको प्रयोग गर्ने हो, यसबाट नेपाली समाज पनि आधुनिकता तर्फ बढदै छ भन्ने कुरो पनि बुझ्न सकिन्छ ।’ यसको प्रयोगले यौन तथा चर्मरोग घट्ने र जनसंख्या वृद्धीको चापलाई सन्तुलनमा राख्ने उनको भनाई छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस