भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''अमेरिका भिसा आवेदन गर्दा अब बैंक मौज्दात, लालपूर्जा नचाहिने, के–के चाहिन्छ ?


अमेरिका भिसा आवेदन गर्दा अब बैंक मौज्दात, लालपूर्जा नचाहिने, के–के चाहिन्छ ?
काठमाडौं, जेठ ४ । अमेरिकी भिसाका लागि नेपालीले निवेदन दिँदा अब बैंक मौज्दातको विवरण, जग्गासम्बन्धी कागजात नचाहिने भएको छ ।काठमाडौंस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउन लागेको हो ।दूतावासले आगामी जेठ १९ गतेदेखि लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवदेन दिने व्यक्तिहरुले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरैमात्र कागजपत्र ल्याए पुग्ने जनाएको छ ।‘आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणापत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु पर्दैन’–दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘यस्ता प्रकारका दस्तावेजहरू ल्याएमा दूतावासको सुरक्षा इकाइको हातमा छाड्न लगाइनेछ ।’के–के चाहिन्छ त ?दूतावासले जेठ १९ गते लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा निम्न कागजपत्रहरूमात्र ल्याउनुपर्ने जनाएको छ । - राहदानी- पुराना राहदानी- DS-160 कन्फर्मेशन पेज- आवेदन शुल्क भुक्तानी रसिद- फोटो- I-20 (विद्यार्थी भिसा आवेदकका लागि)- ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि) दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्ने पनि उल्लेख गरेको छ ।‘अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेका छन्’–विज्ञप्तिमा भनिएको छ–‘कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचासहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धीलगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्रसमेत लिने गरेको जानकारी दूतावासले प्राप्त गरेको छ ।’
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस