सरकारी राहतमा ढुंगामाटो र गोबर, मन्त्री भन्छन्-‘संलग्नमाथि कडा कारबाही गरिन्छ’
काठमाडौं । नेपाल खाद्य संस्थानको थापाथलिस्थीत गोदाममा रहेको खाद्य बस्तुमा ढुंगा बालुवा र धुलो भेटिएको छ । संस्थानले तराईका बाढीपीडितलाई पठाउन तयारी अवस्थामा राखेको सिमीमा एक किलोसम्मका ढुंगा, गोबर, माटो र बालुवा भेटिएको छ ।
आपूर्ति मन्त्री शिवकुमार मण्डलसमेतको संलग्नतामा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले खाद्य संस्थानको काठमाडौंको माइतीघर मण्डलामा रहेको सदर धान गोदाममा अनुगमन गर्दा यस्तो भेटिएको हो ।
बाढीपीडितलाई राहतस्वरुप पठाउन लागिएको उक्त सिमी गुणस्तरहीनसमेत भेटिएको छ । त्यही सिमीमध्ये ४० किलो बाढीपीडितलाई पठाइसकिएको छ । बाढीपीडितलाई थप पठाउन लागिएको खाद्य बस्तुमा अखाद्य पदार्थ रहेको सूचनाको आधारमा मन्त्रालयले अनुगमन गर्दा फापर, उवा र चामलमासमेत प्रशस्तै कैफियत देखिएको छ ।
संस्थानले राहतका लागि मौज्दातमा राखेको ७ सय २० क्विन्टल सिमी परीक्षण गर्दा उक्त सिमी प्याक गरेको बोरामा ढुंगा, माटो, बालुवा, गोबर, चाउचाउका टुक्रा लगायत भेटिएको थियो ।
त्यस्तै, संस्थानले मौज्दातमा राखेको फापर पनि सडेको भेटिएको थियो । संस्थानको सदर गोदाममा ७ सय २२ किलो फापर मौज्दातमा छ । ती फापर राहतस्वरुप संस्थानले विभिन्न क्षेत्रमा पठाउने गर्छ ।
संस्थानमा दुई वर्षभन्दा पुरानो चामल समेत भण्डारण गरेर राखिएको छ । २०७२ सालको भूकम्पका समयमा बंगलादेश सरकारले दिएको १० हजार क्विन्टल चामल अझै पनि संस्थानको गोदाममा थन्किएको । त्यस्तै, फापर र सिमी पनि संस्थानले दुई वर्षअघि नै खरिद गरेको थियो ।
संस्थानको उक्त सदर गोदाममा झण्डै ४१ हजार क्विन्टल खाद्य बस्तु सञ्चय छ । संस्थानले मौज्दातमा रहेका ती खाद्य बस्तु सुपथ मूल्य पसल, कर्णालीलगायतका जिल्ला र खाद्य संकट परेका बेला आवश्यकीय ठाउँमा पठाउने गर्छ ।
संस्थानको अनुगमन गर्दै आपूर्तिमन्त्री मण्डलले खाद्यान्न कारोबार र भण्डारणमा खाद्य संस्थानले चरम लापरवाही गरेको बताए । ‘जनतालाई प्रदान गरिने अत्यावश्यकीय खाद्यान्नमा यस्तो लापरवाही देखिनु दूर्भाग्य हो,’ मन्त्री मण्डलले भने । लापरवाहीमा संलग्नमाथि कडा कारवाही गर्ने प्रतिवद्धता उनले व्यक्त गरे