भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''विद्यासुन्दरले काम गर्न नसकेपछि काठमाडौं महानगरमा ‘छायाँ मेयर’''

विद्यासुन्दरले काम गर्न नसकेपछि काठमाडौं महानगरमा ‘छायाँ मेयर’
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘सन्तोषजनक काम गर्न नसकेको’ भन्ने आलोचनाबीच एमाले पार्टीले उनलाई सहयोग गर्न निजी सल्लाहकार नियुक्त गराएको छ।

पार्टीको निर्देशनअनुसार मेयर शाक्यले जनआस्था साप्ताहिकका व्यवस्थापकीय सम्पादक राजेन्द्र स्थापितलाई निजी सल्लाहकार नियुक्त गरेका छन्। यसरी नियुक्त गर्दा महानगर कार्यपालिकासँग छलफल नगरिएको भन्दै शाक्यको थप आलोचना भइरहेको छ।

असोज पहिलो साता एमाले कार्यकर्तासमेत रहेका स्थापितलाई जनसम्पर्क हेर्ने गरी निजी सल्लाहकार नियुक्त गरिएको हो।

स्थापितको नियुक्तिपछि नेपाली कांग्रेसबाट उपमेयर बनेकी हरिप्रभा खड्गी लगायत अन्य जनप्रतिनिधि भने असन्तुष्ट छन्।

‘हामीलाई विज्ञ सल्लाहकार राख्न छुट छ। यसको मतलब निजी सचिव राख्ने भन्ने होइन,’ उपमेयर खड्गीले सेतोपाटीसँग भनिन्, ‘बाहिरबाट आलोचना आउन थालेपछि मैले पनि उहाँलाई विज्ञ सल्लाहकार राखेर अगाडि बढ्न भनेकी थिएँ, तर यसरी निजी सल्लाहकार नै राख्नुहुन्छ भन्ने ठानेकी थिइनँ।’

खड्गीका अनुसार मेयर शाक्यले स्थापितलाई सल्लाहकार बनाउने निर्णय महानगरको सहमति नै नलिई गरेका हुन्। ‘निजी भ्रमणमा म भारत गएको बेला नियुक्ति गर्नुभएछ। मैले पनि नेपाल फर्केपछि मात्र जानकारी पाएँ,’ खड्गीले भनिन्।

स्पष्ट जिम्मेवारी नतोकिए पनि एमाले पार्टीकै निर्णयअनुसार स्थापितलाई ‘छायाँ मेयर’ का रूपमा महानगर ल्याइएको कतिपयको बुझाइ छ।

महानगरका एक एमाले निकट कर्मचारीले शाक्यले काम गर्न नसकेपछि एमाले पार्टीले नै स्थापितलाई महानगरमा ल्याएको दाबी गरे। शाक्यको कामले आसन्न संसदीय निर्वाचनमा पर्न सक्ने प्रभाव हेरेर पनि यस्तो निर्णय गराइएको हुनसक्ने उनको भनाइ छ।

‘मेयरले गर्नुपर्ने सबै कामबारे उनले कर्मचारीसँग कुराकानी गरिरहेका छन्, काम गर्ने तत्परता पनि देखाउँछन्,’ ती कर्मचारीले भने, ‘योजना बनिरहेका छन्। संसदीय निवार्चनअघि नै महानगरका काममा धेरै प्रगति हुन्छ।’

एमाले काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले मेयर शाक्यलाई आफूहरूले निजी सल्लाहकार र विज्ञ सल्लाहकार नियुक्त गर्न भनेको बताए।

‘हामीले यो विषयमा धेरै छलफल गरेका छैनौं, तर निजी सल्लाहकार र विज्ञ सल्लाहकार भने शाक्यलाई नै तोक्न भनेका छौं,’ राईले भने।

स्थापित काठमाडौंको नेवार समुदायमा घुलमिल भएका र पार्टीको पुरानो मान्छे भएकाले नियुक्त गरिएको हुनसक्ने राईले बताए।

स्थापितले भने महिनादिन बितिसक्दा पनि आफ्नो जिम्मेवारी यकिन नभएको बताएका छन्। ‘अहिलेसम्म मेरो भूमिका यो नै हुन्छ भनिएको छैन,’ उनले सेतोपाटीसँग भने, ‘जे भए पनि महानगर समृद्ध बनाउन मेरो भूमिका हुनेछ।’

‘तपाईंलाई त कतिपयले ‘छायाँ मेयर’ समेत भनेका छन् नि?’ भन्ने सेतोपाटीको प्रश्नमा स्थापितले हाँस्दै भने, ‘पहिला पनि म सल्लाहकार भइसकेको व्यक्ति हुँ। त्यसैले यी सबै हल्ला मात्र हुन्।’

‘छायाँ मेयर’ नियुक्तिबारे शाक्यसँग कुराकानी गर्न पटक–पटक सम्पर्क गर्दा पनि हुन सकेन।

उनी यसअघि केशव स्थापित काठमाडौं मेयर हुँदा सल्लाहकार बनेका थिए। अव्यवस्थित सहर, धुलो, हिलो र ढलका कारण उत्पन्न बाढीले आक्रान्त राजधानीवासीलाई जनप्रतिनिधि आएपछि राहत हुने आस भए पनि पूरा हुन नसकेको उनी बताउँछन्।

मेयर शाक्य आफ्नो कामभन्दा मोबाइल, मोटर लगायत सुविधा प्रयोगको निर्णयले आलोचित छन्। उनले सयदिनमा सन्तोषजनक काम गर्न नसकेको आरोप छ। उनले निर्वाचनअघि सय दिनमा एक सय एक काम गर्ने प्रतिबद्धता गरेका थिए, जुन अझै थाती छन्।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस