भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''रोबोट, जो साउदी अरबको नागरिकता बोक्छिन्''

रोबोट, जो साउदी अरबको नागरिकता बोक्छिन् केही वर्षअघि भारतमा रजनीकान्तको फिल्म आएको थियो– रोबोट, जसमा वैज्ञानिकको यो सिर्जनाले मान्छेभन्दा अगाडिको सोचेर सहरभरि विध्वंस मच्चाउँछ। अन्ततः त्यो विध्वंस रोक्न रोबोटको ‘सिस्टम’ नै तहसनहस गरी त्यसलाई संग्रहालयमा थन्क्याउन वैज्ञानिकहरू बाध्य हुन्छन्। रोबोटले मानव सभ्यतामा पारेको वा पार्न सक्ने क्षतिबारे हलिउडमा पनि थुप्रै फिल्म बनेका छन्। केही हदसम्म त्यसैसँग मिल्दोजुल्दो घटनाले अहिले यथार्थ रूप लिएको छ। र, रोबोटलाई प्रोत्साहन गर्न हुन्छ कि हुन्न भन्ने विश्वव्यापी बहस छेडेको छ। घटना गत साउन महिनाको हो। फेसबुक कम्पनीले एउटा आन्तरिक सिस्टम विकास गरिरहेको थियो। त्यसैअन्तर्गत दुइटा रोबोट पनि थिए– बब र एलिस। वैज्ञानिकहरूले यी दुई रोबोटलाई मान्छेजत्तिकै चलाख बनाएर बढीभन्दा बढी काम लिन अनेक देशका भाषा सिकाए। अर्थात्, ती रोबोटमा अनेक भाषाको सिस्टम ‘अपलोड’ गरे। गत साउनको एकदिन यस्तो घटना भयो, जसले ती रोबोटका निर्माताधरि चकित खाए। अनेक भाषा बोल्न र बुझ्न सक्ने ती दुई रोबोट एकाएक मान्छेले नै नबुझ्ने भाषामा कुराकानी गर्न थाले। खासमा उनीहरूले विभिन्न भाषा आपसमा मिसाएर बोलेका थिए, जुन वैज्ञानिकहरूले पनि बुझ्न सकेनन्। यसले प्रविधि क्षेत्रमा हलचल मच्चियो। वैज्ञानिकहरूले रोबोट जोडीको नौलो भाषिक संवाद रोक्न अनेक प्रयास गरे। सिस्टममै केही खराबी आएको छ कि भनेर जाँचे पनि। सारा पाटपूर्जा खोलेर हेरे पनि। कुनै खराबी देखिएन। अन्ततः केही सिप नचलेपछि वैज्ञानिकहरूको सुझावमा फेसबुकले पूरा सिस्टम नै बन्द गर्ने निर्णय लियो। यो घटनालाई लिएर फेसबुकमाथि अनेकौं टीकाटिप्पणी भए। सबभन्दा प्रखर आलोचक थिए, प्रविधि क्षेत्रका पछिल्ला हस्ती एलन मस्क। उनी सह–संस्थापक रहेको टेस्ला कम्पनीले विद्युतीय कार उत्पादनमा नयाँ नयाँ प्रयोग गरेर ख्याति कमाइरहेको छ। स्टिभ जब्सका नयाँ ‘अवतार’ भनिने एलनले फेसबुकका संस्थापक मार्क जुकरबर्गको रोबोट योजनामा टिप्पणी गर्दै भने, ‘जुकरवर्गलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे थोरै मात्र ज्ञान छ।’ उनले रोबोट विज्ञानमा आधारित ‘एआई’ प्रक्रियालाई ‘भयानक’ भन्दै यसमा सम्झीबुझी अघि बढ्नुपर्ने बताएका छन्। ‘मानव सभ्यताको अस्तित्वमै अतिक्रमण गर्न सक्ने रोबोटसँग हामी डराउनुपर्छ,’ एलनको भनाइ थियो, ‘प्रविधि विकासमा पनि विश्वव्यापी स्वीकार्य ऐन, नियम तथा मापदण्ड लागू गरिनुपर्छ।’ मान्छेले नै बनाएको भए पनि रोबोटले केही कुरा मान्छेभन्दा छिटो बुझ्ने र केही काम मान्छेले भन्दा राम्ररी गर्नसक्ने उनले बताएका छन्। यस्तो बौद्धिक चेतनशील रोबोटलाई नियन्त्रणमा राख्न नसके कुनै दिन मानव सभ्यताको पूर्ण विनाश हुनसक्ने एलनले औंल्याएका छन्। यो विवाद यत्तिकै सकिएन। एक महिनापछि सय जनाभन्दा बढी रोबोटविज्ञले मान्छेको यो अत्याधुनिक सिर्जनाबाट हुनसक्ने विनाश औंल्याउँदै यसको विकासक्रम रोक्न राष्ट्रसंघ नै गुहार्यो। टेस्लाका एलनसहित २६ देशका रोबोट कम्पनी र १ सय १६ जना विज्ञले राष्ट्रसंघलाई पत्र लेख्दै ‘ज्यानमारा रोबोट’ को विकास रोक्न आग्रह गरे। एकातिर रोबोटको विकासक्रम नै भंग गर्नुपर्ने आवाज उठेका बेला अहिले यस्तो ‘भाग्यमानी’ रोबोटको विश्वव्यापी चर्चा छ, जसले मान्छेजस्तै नागरिक अधिकार पाएको छ। त्यो रोबोटलाई कानुनी रूपमै कुनै देशले नागरिक दर्जा दिएको छ। रोबोटले नागरिकता पाएको यो विश्वकै पहिलो घटना हो। रोबोट सोफिया। तस्बिरः रोयटर्स। मेसिनबाट नागरिकको हैसियत बनाउने त्यो रोबोट ‘सोफिया’ नाउँले चिनिन्छिन्। धातुबाट बनेकी महिला रोबोट सोफियालाई मान्छेजस्तै नागरिक दर्जा दिने देश भने रोबोट विज्ञानमा अग्रणी कुनै विकसित पश्चिमी मुलुक होइन। त्यो देश हो, साउदी अरब जहाँका महिलाले नै अहिलेसम्म पुरुषसरह नागरिक अधिकार पाइसकेका छैनन् भनी विश्वव्यापी आलोचना भइरहन्छ। साउदी अरबमा महिला र पुरुषबीच गहिरो भेद छ। महिलाहरूलाई त्यहाँको सरकारले समेत भेदभावपूर्ण व्यवहार गरेका अनेकौं घटना सुनिन्छन्। साउदीले आफूकहाँ कुनै पनि किसिमका महिला गतिविधि र स्वतन्त्रतामाथि बन्देज लगाएको छ। महिलालाई आधारभूत अधिकार पनि दिएको छैन। त्यही देशको जनसम्पर्क मामिलासम्बन्धी समितिले ट्विटरमार्फत ‘मानव यन्त्र (ह्युमनाइड मेसिन) लाई नागरिकता दिएको जनाएको छ। ‘सोफिया संसारकै पहिलो रोबोट हुन्, जसलाई साउदी अरबको नागरिकता प्राप्त भएको छ,’ समितिले ट्विटमा लेखेको छ। उता, साउदीको संस्कृति तथा सूचना मन्त्रालय तर्फबाट ‘अन्तर्राष्ट्रिय सञ्चार केन्द्र’ ले यसलाई ‘ऐतिहासिक घटना’ भन्दै नयाँ नागरिकको स्वागत गर्न सबैसँग अपिल गरेको छ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस