भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''ब्रिटिश गोर्खामाझ बेलायती राजपरिवार । गोर्खा भर्तीको दुई सय वर्षगाँठ । गोर्खाहरु अद्वितिय छन् : प्रिन्स ह्यारी'''

ब्रिटिश गोर्खामाझ बेलायती राजपरिवार । गोर्खा भर्तीको दुई सय वर्षगाँठ । गोर्खाहरु अद्वितिय छन् : प्रिन्स ह्यारी

लन्डन, जेष्ठ २७ - बेलायती महारानी एलिजावेथ द्वितियासहित शाही सदस्यहरु ब्रिटिस सेनामा गोर्खा भर्तीको दुई सय वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।

मंगलबार साँझ लन्डनस्थित रोयल हस्पिटल चेल्सीमा आयोजना गरिएको विशेष समारोहमा महारानीसहित राजकुमार फिलिप, चार्ल्स र ह्यारीसमेत सामेल थिए । राजकुमार चार्ल्स रोयल गोर्खा राइफल्स्का कर्णेल इन चिफ हुन् भने ह्यारी अफगानिस्तान युद्धमा गोर्खा बटालियनका साथ उत्रिएका थिए ।

भूपू गोर्खा र तिनका परिवारका लागि आर्थिक तथा स्वास्थ्य सुविधा उपलव्ध गराइरहेको गोर्खा वेलफेयर ट्रष्टले समारोह आयोजना गरेको हो ।

उक्त ‘गोर्खा २०० पेजेन्ट’ मा उपस्थित हुने १४ सय पाहुनामध्ये ब्रुनाइका सुल्तान पनि सरिक थिए ।

सम्वोधनका क्रममा गोर्खा वेलफेयर ट्रष्टका संरक्षक प्रिन्स अफ वेल्स् चाल्र्सले गोर्खाहरु बेलायती मुकुटका लागि लड्ने योद्धामात्र नभएर एउटा परिवार समेत भएको उल्लेख गरे । उता, यसै महिनाको अन्त्यतिर १० वर्षपछि आर्मी छोड्न लागेका ३० वर्षीय प्रिन्स ह्यारीले सहभागीहरुमाझ आफूलाई एकपटक गोर्खा बन्न मन लागेको खुलासा गरेको बेलायती अखवारले जनाएका छन् । ‘वास्तवमा गोर्खाहरु देखेर म सधैं झुक्ने गर्छु’, ह्यारीले भने, ‘उनीहरु अद्वितिय छन् ।’ उनले सन् २००७ मा अफगानिस्तान युद्धमोर्चामा छंदा गोर्खा बटालियनसंग खसीको मासुसहित भोज खाएको पनि खुलाए ।

आयोजक गोर्खा वेलफेयर ट्रष्टका निर्देशक कर्णेल विलियम सटलउडले ट्रष्टले गोर्खा भेट्रान र तिनका परिवारलाई आर्थिक सहयोग मात्र नगरेर भूकम्पपछि नेपालको पुनर्निर्माणमा समेत आफूहरुले सघाएको जनाए ।

समारोहमा रानीले एकमात्र जिवित भिसी क्याप्टेन रामबहादुर लिम्बुलाई भेटिन् । सन् १९६५ मा इन्डोनेसियामा लड्दा ब्रिटिश सेनाको सर्वोच्च पदक भिक्टोरिया क्रस (भिसी) पाएका लिम्बुले २०० वर्षको विशेष कार्यक्रममा उपस्थित हुन पाएकामा खुशी व्यक्त गरेका छन् ।

सयौं गोर्खा र तिनका परिवार सहभागी उक्त कार्यक्रममा ब्रिगेड अफ गोर्खाज् ब्याण्डको प्रस्तुति विशेष आकर्षण रह्यो । उक्त अवसरमा नेपालमा भूकम्पमा परि दिवंगत भएकाको सम्झनामा एक मिनेट मौनधारण समेत गरियो भने गोर्खा इतिहास झल्कने विभिन्न सामाग्रीको प्रदर्शनी पनि राखिएको थियो ।

इतिहासवीद डान शो र भूपू गोर्खालाई आवासीय अधिकार दिलाउन सफल अभिनेत्री जोआना लुम्लेले कार्यक्रमबारे वर्णन गरेका थिए ।










भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस