संविधान जारी भएलगत्तै भारतले जनायो असन्तोष
काठमाडौं, असोज ३ । नेपालको संविधान २०७२ जारी भएलगत्तै भारतले असन्तुष्टि जनाएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाएको हो ।
भारतले नेपालमा संविधान जारी भएकोमा खुशीयाली प्रकट गर्ने वा शुभकामना दिने औपचारिकतासमेत निर्वाह गरेन ।
विज्ञप्तिमा उसले ‘नेपालमा संविधान जारी भएको थाहा भएको’ भन्दै घुमाउरो पाराले आफ्नो असन्तुष्टि व्यक्त गरेको हो ।
भारतले नेपाली जनताद्वारा संविधानसभामार्फत संविधान निर्माण गरेको विषयलाई भन्दा पनि मधेसमा जारी विरोध प्रदर्शन र हिंसाका घटनालाई विज्ञप्तिमा बढी महत्व दिदैं चिन्ता व्यक्त गरेको छ । उसले विज्ञप्तिमा भनेको छ, ‘भारतसँग सीमा जोडिएका कतिपय क्षेत्रमा जारी हिंसाप्रति हामी चिन्तित छौं ।’
भारतीय विदेशमन्त्रालयका अनुसार मधेसमा जारी हिंसाका बारेमा भारतीय राजदूत रन्जीत रेले नेपालका प्रधानमन्त्री सुशील कोइरालासँग कुरा गरिसकेका छन् ।
भारतले लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान बनाउन सहयोग गर्दै आएको पनि भारतीय विदेशमन्त्रालयले विज्ञप्तिमा स्मरण गराएको छ । नेपालमा संविधान जारी भएको अवस्थामा निकट छिमेकी मुलुक भारतले प्रत्यक्ष रुपमा समर्थन नजनाउनु अर्थपूर्ण मानिएको छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस