समलैंगिक यौनसम्बन्ध भनेकाे के हाे ?
मलैंगिक यौनसम्बन्ध भन्नाले उस्तै लिंगका दुई व्यक्तिबीच स्थापित यौनसम्बन्ध हो । यो कुनै रोग होइन । यसलाई सन् १९७५ मै विश्व स्वास्थ्य संगठनले स्वीकार गरेर घोषणा गरिसकेको छ । समलिंगी यौनसम्बन्ध एउटा प्रवृत्ति हो, जुन अल्पसंख्यक व्यक्तिमा हुन्छ । यो जिनको प्रभावबाट हुन्छ भन्ने तथ्य पनि वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका छन् ।
सामान्यतया समलिंगी यौनसम्बन्ध दुई किसिमका हुन्छन्– मनोवैज्ञानिक वा जन्मजात् र व्यावहारिक वा पछि सिकेर । मनोवैज्ञानिक वा जन्मजात समलिंगीहरू शारीरिक रूपमा पुरुष वा स्त्रीजस्ता देखिए पनि भावनात्मक वा मनोवैज्ञानिक रूपमा ठीक उल्टो आचरण गर्छन् । यसको जिनेटिक कारण हुन्छ । उनीहरू आफ्नै लिंगीका मान्छेसँग यौनमात्र होइन, भावनात्मक रूपमा पनि आकर्षित हुन्छन् । समाज वा परिवारबाट उनीहरूलाई जतिसुकै यो प्रवृत्तिबाट मुक्त हुन दबाब आए पनि यसबाट मुक्त हुन सक्दैनन् । उनीहरू आफ्नो इच्छा वा रहरले यस्तो भएका पनि हुँदैनन् । अर्को अर्थमा उनीहरूको सृष्टि नै यसै रूपमा भएको हुन्छ ।
व्यावहारिक वा पछि सिकेर समलिंगी यौनसम्पर्क राख्नेहरू संगतले वा रहरले पनि हुन्छन् । उनीहरू समलिंगी सम्पर्क सँगसँगै विपरीत लिंगीसँग समेत आचरण गरेर समलिंगी र दाम्पत्य दोहोरो जीवन बिताउन सक्षम हुन्छन् । उनीहरू यथार्थमा समलिंगी नै होइनन् । जो यर्थाथमा समलिंगी हुन्छन्, उनीहरूले त्यसै रूपमा बाँच्न पाउनुपर्छ । उनीहरू अल्पसंख्यक यौनव्यवहार गर्ने व्यक्ति हुन् । विचलित वा रोगी होइनन् भन्ने तथ्य हाल विश्वव्यापी रूपमा स्वीकार भइरहेको छ । दक्षिण अफ्रिका, क्यानडा र अमेरिकाका केही प्रान्तमा तथा स्क्यान्डिनेभियाली देशहरूमा यस्ता व्यक्तिलाई विवाह गर्ने कानुनी अधिकार पनि प्राप्त छ या हुने क्रममा छ ।