भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''सावधान ! तपाइँको एटीएमबाट यसरी भएको हुनसक्छ पैसा चोरी (भिडियोसहित)''

सावधान ! तपाइँको एटीएमबाट यसरी भएको हुनसक्छ पैसा चोरी (भिडियोसहित)

प्रतीक लामिछाने/दिलिप पोखरेल (इमेज)
काठमाडौं, कात्तिक २२ । पछिल्लो समयमा आफ्नो बैंक खाताबाट अर्कैले रकम निकाल्ने घटना काठमाडौंलगायतका स्थानमा बढ्न थालेका छन् ।

प्रहरी र सम्बन्धित बैंकले घटनालाई गम्भीरतापूर्वक लिएर अर्काको एटीएमबाट रकम निकाल्ने गिरोहलाई नै पक्राउ गरेको छ ।

खैरो कपाल र सेतो छाला भएका सबै विदेशी पर्यटक नै हुन्छन् भन्ने तपाइँको सोचाई छ भने त्यो गलत हुनसक्छ ।

किनभने पछिल्ला वर्षहरुमा नेपालमा पर्यटकको भिसामा छिर्ने र अपराधमा लिप्त यस्ता हुलिएका विदेशी पर्यटकको संख्या बाक्लै देखिन थालेको छ ।

यस्ता आपराधिक गतिविधिमा विशेषगरी पूर्वी युरोपेलीमुलुक टर्की, बुल्गेरिया तथा रोमानियाका नागरिक संलग्न भएको प्रमाण नेपाल प्रहरीसँग छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सोमबार पत्रकार सम्मेलन गरी यस्तो अपराध कर्ममा संलग्न थप तीनजना रोमानियन नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेपछि यो तथ्य बाहिर आएको हो ।

पक्राउ परेका रोमानियाका ५२ वर्षका गैता हुजुम, ४८ वर्षका इओसिफ मोरारु र ४५ वर्षका एलेक्सी क्रिस्टियन बुघिउरलान्ले सुन्दर देश नेपालभित्र प्रवेश गरी यहाँ अपराध कर्म गर्ने योजना बुन्दै थिए ।

उनीहरु कसैको घर वा कोठाबाट सरसामान चोर्ने वा फोर्नेकार्यमा संलग्न थिएनन् । बरु उनीहरु त रातरात बैंक खातामा रहेको रकम एटीएमबाट निकाल्ने तयारीमा लाग्दै थिए ।

एकाबिहानै एटीएम बुथमा पुग्ने र त्यहाँ ‘हिडेन’ क्यामेरा ‘फिट’ गर्ने तथा त्यसभित्र दिनभर बुथमा आएर रकम झिक्ने ग्राहकले प्रयोग गर्ने ‘पिन’ नम्बर सुरक्षित गर्ने प्रविधि अर्थात् ‘कार्ड स्किमिङ’ जडान गर्ने गरेका थिए ।

अनि राति अबेर सोही एटीएम बुथमा पुगेर बिहान फिट गरेको मेसिन निकाल्ने र दिनभर रकम झिक्ने ग्राहकले प्रयोग गरेको पिन नम्बर सुरक्षित भएको कार्ड स्किमिङलाई सुरक्षित गर्ने उनीहरुको धन्दा थियो ।

उनीहरुले सो कार्ड स्किमिङमा भएका ग्राहकका पिन नम्बरलाई फोन तथा इमेलमार्फत् अन्य राष्ट्रमा रहेका आफ्ना अन्य गिरोहलाई पठाउने गरेका थिए ।

जसका कारण भारतलगायतका अन्य मुलुकबाट उनीहरुले सो पिन नम्बर प्रयोग गरी अनाधिकृतरुपमा नेपालको बैंकमा रहेको ग्राहकको खाताबाट रकम निकल्ने उपाय रचेका थिए ।

पक्राउ परेकाहरुले विगतमा विदेशमा रहेका एटीएम मेसिनमा यस्तो प्रविधि फिट गर्ने गरेको र सो पिन नम्बर नेपालमा ल्याएर रकम निकाल्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस