पानी मात्र पिएर’ बाँचिरहेछन् जो
महाभूकम्पपछि पूरै देश शोकमा डुबेको । हजारौंको मृत्यु भइसकेको छ भने धेरै व्यक्ति अझैपनि बेपत्ता छन् । कयौं घर ध्वस्त भएका छन् ।
देशका विभिन्न स्थानमा भूकम्पबाट जसोतसो बाँचेकाहरुको स्थिति पनि नाजुक छ । उचित मात्रामा उद्दार नभएको र राहत नपाएको गुनासो देशका विभिन्न भागका भूकम्पपीडितहरुले गरेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकाका फूलबारी, कोटगाउँ, ज्यामिरेडाँडामा रहेका करिब ३ हजार स्थानीयबासिन्दाको अवस्था पनि अत्यन्तै दयनीय रहेको छ । यहाँका स्थानीयहरु ‘पानी मात्र पिएर’ बसिरहेका छन् ।
स्थानीय कर्ण गुरुङका अनुसार महाभूकम्पमा परी खानेकुरा, सम्पत्ति सबै घरभित्रै पुरिएपछि उनीहरु यसरी बाँचिरहेका हुन् । काठमाडौंबाट करिब २५ किमीको दुरीमा रहेपनि अहिलेसम्म यहाँ राज्यको उपस्थित नभएको स्थानीयको गुनासो छ ।
स्थानीय एक ८६ वर्षीय बृद्धले आफू ‘पानी र ग्लुकोज खाएर बसिरहेको’ हामीलाई बताए ।
यहाँको दयनीय अवस्थाको बारेमा थाहा पाएपछि ओमानमा रहेर काम गर्दै आएकी नम्रता झा र उनका साथीहरुको एक समूह शुक्रबार बिहान राहत सामग्री र स्वास्थ्यकर्मीसहित यहाँ पुगेको थियो ।
नम्रताका अनुसार यी गाउँमा धेरै बृद्धबृद्धाको अवस्था दयनीय रहेको छ । ‘भूकम्पबाट मृत्यु भएकालाई दाहसंस्कार गर्ने खर्च नभएर मृतकको शव खुला स्थानमा राखिएको छ ।’
नम्रता र उनको समूहले व्यक्तिगत र सामाजिक सन्जालमार्फत् संकलन गरेको केही रकमले केही राहत र मृतकको दाहसंस्कार गर्ने पैसा स्थानीयलाई दिएको थियो ।
राज्यका कुनै निकायमा यो ठाउँको क्षतिका बारेमा जानकारी नभएकैले यहाँ कोही पनि नपुगेको स्थानीयको भनाइ छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस